सरस्वती क्लबले स्ट्रिट विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौँ — सरस्वती युथ क्लबले थ्री बाई थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

‘बी’ डिभिजन क्लब सरस्वती युथको प्रतिनिधित्व गर्दै नेपाली खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ सम्म हुने च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

विश्व फुटबल महासंघ (फिफा)अन्तर्गत आईएसएफएले सञ्चालन गर्ने च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ ।

चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सभासद् सुनील केसी, क्लबका पूर्वअध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरेका थिए ।

सात सदस्यीय नेपाली टोली आइतबार चीन जानेछ । टोलीका खेलाडीमा दीपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांसु शर्मा छन् । प्रशिक्षकमा असिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल छन् ।

उपाधि जित्ने लक्ष्यसाथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक असिम अर्यालले बताए । ‘स्ट्रिट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दाबेदार हौं । राम्रो तयारी गरेकाले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौं,’ उनले भने ।

प्रशिक्षक अर्यालका अनुसार फुटसलभन्दा सानो कोर्टमा खेलिने थ्री बाई थ्री फुटबल ८ मिनेटको हुनेछ । खेलाडीलाई शुभकामना दिँदै सरस्वती क्लबका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताए ।

Source: ekantipur

Add Comment

Your email address will not be published. Required fields are marked *